३० वर्षअघि क्यामेरा चलाउने ग्रामीण महिलाको कथा

करीब तीन दशकअघि सुर्खेतको रामघाटमा एउटा अनौठो कार्यक्रम भयो ।

गाउँका केही महिलाहरु भिडियो खिच्ने एउटा तालिममा सहभागी भए । आफ्ना कुरा आफैं क्यामेरामा खिच्ने र त्यसलाई आफू हेर्ने र अरुलाई पनि हेराउने यो कार्यक्रम त्यसबेला यस दुर्गम गाउँका लागि अनौठो थियो नै ।

महिलाहरुले गाउँको समस्याबारे बोल्ने, भिडियो खिच्ने र यसरी खिचिएका भिडियो गाउँमा मात्रै होइन, जिल्ला र केन्द्रसम्म लगेर देखाउने र यसैबाट गाउँको परिवर्तन खोज्नु कार्यक्रमको उद्देश्य थियो । भिडियोमा भएको शक्तिलाई समुदायको परिवर्तनसँग जोड्ने यस कार्यक्रमले पिछडिएको एउटा गाउँको रुपमा रहेको रामघाटको अवस्थामा परिवर्तन ल्याउन भने निकै सहयोग गर्‍यो ।

करीब दुई साताअघि सुर्खेतको यस गाउँमा पुग्दा उसबेला भिडियो खिच्ने र पछि गएर एउटा टेलिभिजनको लामो श्रृंखलामा कलाकारको रुपमा समेत देखिएका तीनै पात्रहरुसँग भेट भयो । जो संयोगले त्यसबेला भिडियो क्यामेरा खिच्ने टोलीमा परेका थिए । तीन दशकमा रामघाट नजिकै रहेको भेरी नदीमा धेरै पानी बगे पनि त्यसबेलाका सिकाइ र त्यसले रामघाटको परिवर्तनमा खेलेको भूमिकाका बारेमा उनीहरुसँग सुखद् स्मरण रहेका थिए ।

‘त्यस्तो क्यामेरा भए त अहिले पनि चलाउँदो हुँ,’ चन्द्रकलाले भनिन् । हामीसँग केही डीएसएलआर क्यामेराहरु थिए । चन्द्रकलाले सोधिन्, ‘यसमा कसरी ‘जुम’ गर्ने हो ?

चन्द्रकला घर्तीको उमेर त्यसेबेला नै करीब ५० वर्ष जति थियो । अहिले ८१ वर्ष पुग्दै गरेकी चन्द्रकलासँग भेट हुँदा उनले भनिन्, ‘त्यसबेला आफ्नो र अरुको भिडियो खिच्दाखिच्दै हामी जान्ने भयौं । जान्ने भएपछि हामीले कसैको हेपाइ खानु परेन ।’ हुन पनि गाउँका केही महिलाहरु घरबाहिर निस्केको यो नै पहिलो घटना थियो । गत तीन दशकमा महिलाहरुको अवस्थामा भएको परिवर्तनको एउटा साछी हुन् चन्द्रकला । महिलाहरुको यो टोली रामघाटमा आएको परिवर्तनको एउटा सारथी पनि हो ।

उसबेला भिडियोमा गाउँको समस्याको रुपमा रहेका खानेपानी, शौचालय, बीउविजन, बाटोघाटो, पशुको औषधि, प्रौढकक्षा र स्कुलको माग गरेका यस गाउँका महिलाहरु अहिलेसम्म पनि गाउँको परिवर्तनको लागि सहयोगी भएको चन्द्रकला सम्झन्छिन् ।

पुरानो तस्वीर

लामो समयदेखि सञ्चारमा काम गर्दै आएको वर्ल्डभ्यू नामक संस्थाले तीन दशकअघि खिचेको तस्वीर कार्यालयमा टाँसेको थियो । तर, ती महिला को हुन् भन्ने पूरा जानकारी भने थिएन । क्यामेरा खिच्दै गरेको उसबेलाको तस्वीरकी पात्र भने नन्दकली रावत रहिछन् । रामघाटमा केही पुराना महिलाहरुलाई तस्वीर देखाएपछि उनीहरुले तस्वीरकी पात्र नन्दकली भएको ठम्याए । क्यामेरा लिएर भिडियो खिच्दै गरेको तस्बीर आफ्नो भएको भन्दै उनले त्यसबेला गरेका कामहरुको फेहरिस्त सुनाइन् ।

तस्वीरसँग जोडिएको कथा बताउँदै ५६ वर्षीया नन्दकलीले भनिन्, ‘त्यो भिडियो खिचेर देखाउन थालेपछि हामीले गाउँको समस्या आफैंले बुझ्यौं । महिलाहरु विकासका काममा घरबाहिर निस्कने चलन थिएन । त्यसबेला गाउँको विकास र उन्नतिमा चासो राख्न थालेका हामीले गाउँलाई परिवर्तन गर्ने बाटो पायौं । त्यही भिडियो खिच्ने कार्यक्रमले यस गाउँको विकास र उन्नतिमा पनि केही टेवा मिल्यो ।

क्यामराबाट हेर्दै नन्दकली रावत

‘गाउँको समस्या बाहिर भन्न सक्ने भएपछि गाउँ पनि फेरिने रहेछ र साधन स्रोत पनि आउन सक्ने रहेछ । अहिले यस गाउँमा कसैका हात पनि खाली छैनन् । खेती–किसानी गरेर नै सबैका हातमा आम्दानी आउँछ,’ नन्दकलीले आफ्ना कुरा थपिन् ।

नन्दकलीले कथा भनिरहँदा सँगै भेटिएका दुई महिला तिला ओली र इन्द्रा ओली पनि पुरानो कथा खोतल्न थाले । नजिकै रहेको भेरी पशु तथा कृषि सहकारीको यसअघि अध्यक्ष र हाल सल्लाहकार रहेकी तिला ओलीले भनिन्, ‘त्यसबेला घर बाहिर हिंड्न थालेका हामीले त्यसपछि कहिल्यै पछाडि फर्कनु परेन । घर बाहिर निस्कन थालेपछि हाम्रा आँखा खुले र पुरुष जत्तिकै सक्षम भएर काम गर्न हामीले सिक्यौं । त्यसबेलाको कार्यक्रममा सहभागी भएका हामी कोही पनि महिला अहिले पनि चुप लागेर बसेका छैनौं ।’

हाल भेरीगंगा नगरपालिकाको ११ नम्बर वडामा रहेको यस गाउँमा महिला नेतृत्वको धेरै कुराहरु देखिन्छन् । भेरीगंगा नगरपालिका–११ का वडाध्यक्ष तिलकराम डाँगीलाई पनि यहाँका महिलाहरुको सामुदायिक विकासको चेत निकैअघिदेखि शुरु भइसकेको र त्यसले रामघाटलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको अनुभव छ । उनी भन्छन्, ‘उहाँहरु हामीले जान्दाखेरि नै सामाजिक काममा लाग्नुभएको हो, उहाँहरु रोकिनुभएको छैन । यहाँका धेरै निकायमा नेतृत्वमा रहेर नै काम गर्नुभएको छ ।’

सुर्खेतको छिञ्चु बजारबाट करीब ७ किमी टाढा रहेको यस गाउँमा भिडियो क्यामेरासँग जोडिएको कथा उनीहरुका मनमा छन् । नेपालमा टेलिभिजनको युग प्रवेश भएको पहिलो दशक नपुग्दै क्यामेरासँग साइनो जोडिन पुगेका यी ग्रामीण महिलाहरु अहिले पनि भिडियो क्यामेराको भाषामा परिचित छन् ।

जुम’ कहाँ छ ?

चन्द्रकलाले पढेकी थिइनन् । त्यसबेला नै प्रौढशिक्षा पढेर उनले आफ्नो नाम लेख्न जानेकी हुन् । नन्दकलीले तीन कक्षा पढेकी थिइन् । तिलाले प्रौढकक्षाबाट नै अक्षर चिनेकी हुन् । इन्द्राको पढाइ पनि चार कक्षा जति मात्र थियो रे । तर तीन दशकअघि भिडियो क्यामेरामा खेल्दा उनीहरुले अंग्रेजी शब्दहरु पनि सिके । चन्द्रकलाले बताइन्, ‘मान्छेले सिकेपछि नजान्ने केही हुन्न ।’

८१ वर्षको उमेरमा पनि चाउरिएका अनुहार मिलाउँदै चन्द्रकलाले उसबेला भिडियो क्यामेरा चलाउँदाका केही अनुभवहरु सुनाइन् ।

‘त्यस्तो क्यामेरा भए त अहिले पनि चलाउँदो हुँ,’ उनले भनिन् । हामीसँग केही डीएसएलआर क्यामेराहरु थिए । चन्द्रकलाले सोधिन्, ‘यसमा कसरी ‘जुम’ गर्ने हो ?

मैंले प्रश्न गरें, ‘जुम’ भनेको के हो ?

उनले भनिन्, ‘खिचेको कुरा ठूलो बनाउँदै लैजाने ।’

आफ्नो इतिहास खोतल्दै उनले भनिन्, ‘हामीले त्यसबेला रामघाटका सारा कुरा खिच्यौं र विभिन्न ठाउँमा देखाउने काम गर्‍यौं । हाम्रो गाउँको समस्या यस्तो छ भनेर हामी काठमाडौंमा पनि पुग्यौं ।  विकास माग्ने, खानेपानी, औषधिमूलो, बीउविजन, प्रौढकक्षा, स्कुल सबै माग्न हामीले भिडियोलाई अपनायौं । त्यसबेला वर्ल्डभ्यू इन्टरनेशनल फाउण्डेसनले यस कार्यमा सहयोग गरेको थियो ।’

क्यामेराका साथमा चन्द्रकला घर्ती

क्यामेरा, तीनखुट्टे, माइक्रोफोन, क्यासेट, डेक सबै कुराको उनीहरुलाई सम्झना छ । उसबेला चलाइने यी सबै उपकरणहरुलाई अब समयले बिदा गरिसकेको छ ।

गुहार फिल्मका कलाकार 

वर्ल्डभ्यूको भिडियोको कार्यक्रमबाट घरबाहिर निस्केका यी ग्रामीण महिलाहरु केही समयपछि एउटा टेलिभिजन श्रृंखलामा देखिएका थिए । वर्ल्डभ्यूले गरेको भिडियो तालिममा सहभागी भएका महिलाहरु नै यस श्रृंखलाका मुख्य पात्रहरु थिए ।

यो टेलिशृंखलाले त्यसबेला एउटा गाउँले भोगेका समकालीन समस्याहरुको बारेमा गम्भीर सवाल उठाएको थियो । नेपाल टेलिभिजन र फिनल्याण्डको टेलिभिजनमा यी शृंखलाहरु प्रसारण भएका थिए । यसको निर्देशन दीपेन्द्र गौचनले गरेका थिए ।

उक्त टेलिभिजन शृंखलामा ग्रामीण मानिसहरुलाई सेवा पाउन र विकासको प्रक्रियामा के कस्ता झमेलाहरु छन् भन्ने कुराको चित्रण गरिएको थियो । गुहार फिल्मको कामसँग जोडिएका आनन्द श्रेष्ठ त्यहाँ चलेको भिडियो कार्यक्रमका कारण नै उनीहरु एउटा टेलिशृंखलाका पात्रको रुपमा देखिएको बताउँछन् । त्यसबेलाका सेवा केन्द्रहरुको बेथिति, हाकिम फेरिएपछि फेरि पुरानै ताल दोहोरिने सरकारी कार्यालयको संस्कारजस्ता कुरालाई व्यंग्यात्मक रुपमा टेलिभिजन शृंखलामा समेटिएको थियो । त्यसमा सरोज खनाल, सूर्यमाला खनाल, नीर शाह, रविन शर्मा लगायतका कलाकारहरुको पनि भूमिका थियो । तर, मुख्य भूमिकामा यहाँका ग्रामीण महिलाहरु नै रहेका थिए ।

सरोज खनाल र सूर्यमालाले उसबेला दिएका दुईवटा स्टीलका गिलास चिनोको रुपमा अझै राखेको चन्द्रकलाले बताइन् ।

चन्द्रकला यसको मुख्य पात्र थिइन् । गुहार टेलिफिल्ममा उनी ‘ठूल्दिदी’को भूमिकामा थिइन् । त्यसपछि केही समय ठूल्दिदीको रुपमा नै रामघाटमा उनको नाम चल्यो । नन्दकली, इन्द्रा ओली लगायतका धेरै स्थानीय महिलाहरुले यसमा खेलेका थिए । टेलिभिजनबाट आठभन्दा बढी शृंखलामा बनेको यो फिल्म हेर्ने सौभाग्य भने उनीहरुले पाएनन् ।

चन्द्रकलाले उसबेला ठूल्दिदीको भूमिका गरेबापत केही हजार जति पारिश्रमिक पाएकी थिइन् रे । उनकै नाममा भेरीको पानी तान्ने मेसिन पनि गाउँमा आएको थियो । विकासका विभिन्न खालका प्रयासहरुमा पनि फिनल्याण्डको टिमले हात हाल्न खोजेको थियो । तर राप्ती र भेरीमा बढ्दै गएको माओवादी जनयुद्धपछि रामघाटका विकासका कार्यक्रमहरु पनि रोकिन पुगे ।

भिडियोबाट परिवर्तन खोज्ने गाउँको सपनामा पनि ब्रेक लागेजस्तै भयो । पछि गुहार फिल्मका चक्का गाउँमा पुग्यो तर हेर्ने प्रविधि नभएकोले उनीहरुको आफ्नै फिल्म हेर्ने सपना भने अधुरै रह्यो ।

चन्द्रकलाले उसबेला ठूल्दिदीको भूमिका गरेबापत केही हजार जति पारिश्रमिक पाएकी थिइन् रे । उनकै नाममा भेरीको पानी तान्ने मेसिन पनि गाउँमा आएको थियो । विकासका विभिन्न खालका प्रयासहरुमा पनि फिनल्याण्डको टिमले हात हाल्न खोजेको थियो ।

भिडियोमा ‘चिठी’

रामघाटमा त्यसबेला महिलाहरुले खिचेको भिडियो उनीहरुले आफ्नो गाउँ समुदायको समस्याको बारेमा बोलेका कुराहरुलाई त्यसबेला भिडियो चिठीको रुपमा सुर्खेतका सेवा केन्द्रहरुमा मात्र होइन सिंहरदरबारसम्म पुग्यो । कृषि मन्त्रालयका सचिवसम्म पनि एउटा गाउँका समस्याका दृश्य र स्थानीय कथनहरु देखाइएका  थिए । यसलाई ‘भिडियो लेटर’को नाम दिइएको थियो ।

यही भिडियो लेटर त्यसबेला यस समुदायको विकास र उत्थानको आधार बन्यो ।

एउटा दुर्गम र पिछडिएको भेरी किनारमा रहेको यस गाउँमा विकासका पूर्वाधार पुर्‍याउन त्यो भिडियो लेटरले धेरै काम गरेको र भिडियोको शक्तिलाई सञ्चार र विकासमा उपयोग गरिएका वर्ल्डभ्यूका संस्थापक भरतदत्त कोइराला बताउँछन् । रामघाटमा महिलाहरुले त्यसबेला भिडियोमा भएको शक्तिलाई उपयोग गरेको र ग्रामीण सञ्चारको क्षेत्रमा यो नेपालको पहिलो अनुभव भएको उनी बताउँछन् । सञ्चारको क्षेत्रमा नेपालले हासिल गरेको परिवर्तन यस्ता धेरै कुराबाट भएको पनि उनी बताउँछन् ।

टेलिभिजनको युग सँगसँगै

२०४२ सालमा नेपालमा पहिलोपटक टेलिभिजन शुरु हुँदा वर्ल्डभ्यूले महत्वपूर्ण काम गरेको थियो । नेपालमा टेलिभिजनको जग हाल्न स्रोत जुटाउने र प्रविधि भित्र्याउने र मानवीय स्रोत विकसित गर्ने कुरामा वर्ल्डभ्यूले अग्रणी भूमिका खेलेको वर्ल्डभ्यू संस्थापक भारतदत्त कोइराला बताउँछन् । हाल म्यानमारमा काम गरिरहेका र कुनैबेला नर्वेको प्रधानमन्त्रीको उम्मेदवार समेत रहेको आर्ने फरज्योट नेपालमा टेलिभिजनको युग शुरु गर्न वर्ल्डभ्यूले खेलेको भूमिकालाई टेलिभिजन युगको शुरुवात मान्दछन् ।

नेपाल टेलिभिजनको शुरुवात हुँदा आवश्यक जनशक्तिका लागि करीब दुई दर्जन व्यक्तिलाई नेदरल्याण्ड लगिएको थियो । यसको व्यवस्थापन पनि वर्ल्डभ्यू इन्टरनेशनल फाउण्डेसनले नै गरेको थियो । टेलिभिजनपछि एफएम रेडियोहरुको शुरुवात गर्न यसले निकै वर्ष नीति निर्माणको तहमा वकालत गर्ने काम गरेको थियो ।

३० वर्षअघि नन्दकली

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियोको रुपमा रहेको रेडियो सगरमाथा शुरु गर्न पनि यस संस्थाले साझेदार संस्थाको रुपमा काम गरेको थियो । यसबेला वर्ल्डभ्यू नेपाल, नेपाल वातावरण पत्रकार समूह, हिमाल एशोसिएसनजस्ता सञ्चार संस्थाहरुले एफएम रेडियो सञ्चालनमा महत्वपूर्ण काम गरेका थिए ।

नेपालमा एफएम रेडियोहरु सञ्चालनअघि देशका केही ठाउँमा सामुदायिक रपमा अडियो टावर सञ्चालन भएका थिए । यसको लागि पनि वर्ल्डभ्यूले संयोजनकारी भूमिका खेलेको थियो । Onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *